सहरमा एक असल राजा थिए। उनी राजा भए पनि साधारण जीवन जिउँथे। त्यही नै उनको परिचय थियो। उनी गुणका खानी थिए। अनि उनी ज्ञानका दाता थिए। उनमा अहम् लालच केही पनि  थिएन। उनी चाहन्थे  आफ्ना प्रजा सबै खुसी र सुखी रहुन्। साथै सबै जना शिक्षित होऊन्  भन्ने सोच्दथे। उनी दरबारका नोकरचाकर सबैलाई मिजासिलो र मित्रजस्तो व्यवहार गर्दथे।  प्रजाहरू सबै उनको तारिफ गरेर थाक्दैनथिए। 

एकदिन राजालाई दरबारबाट बाहिर निस्किएर प्रजाको हालचाल बुझ्ने र आफ्नो सहर हेर्ने इच्छा जागेछ। प्रजासँगै बसेर खाने उनको इच्छा पलाएछ। तर सबै प्रजाको घरमा बसेर खान राजालाई सम्भव भने थिएन । राजाले आफ्नो मन्त्रीसँग सल्लाह गरी जुक्ति निकाले। अनि सम्पूर्ण प्रजालाई   सूचित गरेर यस्तो सन्देश फैलाए – ‘म दस दिन प्रजाको घरमा बसेर खानेछु। प्रजाकै घरमा विश्राम लिनेछु।  जसको घर सफासुग्घर छ; जसले मेरो लागि मिष्ठान भोजन तयार गर्छ म उसैको घरमा बस्नेछु।’ 

राजाको यो खबरले चारैतिर  खैलाबैला भयो। राजा आउने भनेपछि सम्पूर्ण प्रजाहरूले घरदैलो, आँगन सफासुग्घर गरेर सुन्दर बनाउन थाले। साधु ठूलाठूला योगी गुरु ऋषिहरूले आश्रमलाई शुद्ध पार्दै चोखोनिधो गर्न थाले। 

राजालाई मनपर्ने चौरासी व्यञ्जन खानाको तयारी गर्न थाले। ‘हाम्रो राजालाई यो मनपर्छ। हाम्रो राजालाई त्यो मन पर्छ।’ भन्दै राजालाई खुसी पार्न सक्दो प्रयास गर्न जोडतोडले लागी परे। सबै प्रजाहरू ‘राजा त मैरै घरमा बस्छन्, मैले बनाएकै खान्छन्,’ भन्दै एकापसमा फुर्ती पनि लगाउँदै थिए।  

राजा दरबारबाट आफ्नो नजिकको  सुसारे लिएर निस्किए। दिनभरिजस्तो राजा आफ्नो सहर घुमे। चारैतिर सुन्दर र सफा देखे। घरहरू पनि सुनौला र झिलिमिली देखिएको थियो। राजालाई लाग्यो, ‘अहो ! मेरो सहर त कति सुन्दर रहेछ। प्रजाहरू खुसी र सुखी रहेछन्।’ राजाले मनमा आनन्द लिए। 

घुम्दाघुम्दै रात पर्न थालिसकेको थियो। राजाले सुसारेसँग भने, ‘आज हामी साधुको आश्रममा बस्ने हो। उनी नाम चलेका साधु हुन्।’ उनी साधुको घरमा गए। साधु दङ्ग परे। राजालाई हेर्न साधुको आश्रममा  प्रजाहरूको भिड लाग्यो। राजालाई हेर्न उनीहरू तछाडमछाड  गर्न लागे। 

गाउँलेहरूले पनि ‘यो राजालाई के भयो ?’ भन्दै यताउति मुखामुख गरी साउती मार्न थाले। राजाले आफ्नो धर्म नाश गर्न थाले भन्दै ठूलाज्ञानी र भद्रभलाद्मीहरूले अवरोध गर्न थाले।

साधुले  राजालाई सम्मान गर्दै मखमलको बिछ्यौनामा बसाए। चौरासी व्यञ्जन भोजन लगाए। राजा दङ्ग थिए। त्यो सबै दृश्य एउटा कुनाबाट एउटा बालकले अचम्मले हेरिरहेको थियो। त्यो बालकलाई देखेपछि साधुले छडी देखाउँदै बालकलाई भगाउने प्रयास गरिरहेका थिए। बालकलाई साधुले छडीले हान्न लागेको देखेर राजाले रोके। बालकलाई बोलाए र काखमा राखे।
साधुले भने, ‘महाराज, यसलाई छुन हुन्न। यो तल्लो जातको मान्छे हो। यसलाई छोयो भने धर्म नाश हुन्छ।’ साधुको कुराले राजा अचम्म परे। गाउँलेहरूले पनि ‘यो राजालाई के भयो ?’ भन्दै यताउति मुखामुख गरी साउती मार्न थाले। राजाले आफ्नो धर्म नाश गर्न थाले भन्दै ठूलाज्ञानी र भद्रभलाद्मीहरूले अवरोध गर्न थाले। 

‘यिनीहरूले हिँडेको बाटो त हामी हिँड्दैनौँ। राजा यसलाई काखमा राखटेर खाँदैछन्। कस्तो अचम्म भयो ! आपत नै प¥यो !’ भिडमा सहरका बुढापाकाहरू पनि गनगन गर्न थाले। 

राजाले बालकलाई काखमा राख्दै सोधे, ‘बाबु तिमी कहाँ बस्छौ ? यहाँ कसरी आइपुग्यौ ? साधुले तिमीलाई किन छडीले हान्न खोजेका ?’  

‘म पारि गाउँमा बस्छु। म तल्लो जातको मान्छे रे। हामीले छोयो भने अरुको धर्म नाश हुन्छ रे। तर म राजा कस्तो हुन्छ भनेर लुकेर हेर्न आएको। राजा त हामी जस्तै पो हुँदारहेछन्।’ भन्दै बालक मुसुमुसु हाँस्यो। 
बालकले सोध्यो, ‘राजाले यति धैरै खान्छन् ?’ राजा जिल्ल परेर भने,  ‘खान्नँ।’ 

‘किन त यति धैरै तपाईंलाई मात्र पकाएको ?तपाईंलाई भनेर सबैले धेरै धैरै पकाएका छन्।’ बालकले राजालाई सुनायो। 
‘राजालाई यति ठुलो बिछ्यौना चाहिन्छ ?’ बालकले फेरि सोध्यो। राजाले भने, ‘चाहिँदैन।’ 
‘तर तपाईंलाई किन यति ठुलो बिछ्यौना साधुले दिएका त ?’ 

राजाले बालकलाई प्रतिप्रश्न गरे, ‘बाबु तिमीले यो प्रश्न किन गरेको ?’ बालकले भन्यो, ‘हामीले यति धैरे मिष्ठान भोजनहरू कहिल्य देखेका छैनाँै। बिछ्यौना पनि हामीसँग गतिलो छैन। हामीलाई सबैले तल्लो जातका भन्छन्। हामीले कसैलाई छुनहुन्न रे। धर्म नाश हुन्छ रे। साधु बाबाले भनेका।’ 

‘धर्म भनेको के हो ?’ बालकले राजालाई सोध्यो। राजा जिल्ल परे र भने ‘असल धर्ममा भेदभाव हँुदैन र छुवाछुत पनि।’ राजाले जवाफ दिए। 
बालकले भने, ‘राजा ठूला र साधुको घरमा मात्र जान्छ हो ?’ 
‘होइन।’ राजाले भने।

राजालाई बालकको घर जाने इच्छा जाग्यो। राजाले भने, ‘बाबु तिम्रो घर मलाई लान्छौँ ?’ बालक तिनछक परे। मेरो घरमा मिष्ठान भोजन पनि छैन। गतिलो कपडा पनि छैन। राम्रो बिछौना पनि छैन।’ बालकले भन्यो। तैपनि पनि राजाले बालकसँग उनको घर लान आग्रह गरे।

बालकको घर देखेर राजा तिनछक परे। सानो झुपडीमा टुकी पिलपिल गरिरहेको थियो।
राजा बालकको घरमा पुगेर अगेनासँगैको सुकुलमा बसे। बालकको आमाले राजालाई मोहि र मकै दिइन्। राजाले आनन्द मानेर खाए। बालक पनि राजासँग रमाइरहेको थियो। राजा र बालकको यो मिल्ती हेर्नेको भिड थियो। साधु पनि राजाको क्रियाकलापबाट अचम्म परे। साधु पछुतो मान्दै यो दृश्य हेरिरहे।