एउटा दासको घोषणापत्र – राजु स्याङ्तान

आफ्नै चिहानमाथि चुपचाप निधाइरहेको
यस युगको असली दास हुँ म

कोर्रा लगाएको छैन आज
तर कुटिएको छु आफ्नै हातले
नेल देख्दिनँ खुट्टामा
तर बाँधिएको छु आफ्नै मस्तिष्कले
निधारमा छैन कुनै मूल्यसूची
तर बेचिएको छु प्रत्येक पल

यो तातो पृथ्वीलाई पसिनाले पगालेर
सभ्यताको पहिलो जग बसाउने म
आज हिँडिरहेछु हरेक साँझ बास माग्दै
नङ्ग्राले धर्ती खोस्रिएर सिसमहल बनाउने म
आज मागिरहेछु आफ्नै लास छोप्ने
एक चपरी माटो
युगौंयुगपछि आज
यो सुनसान मसानघाटबाट ब्युँझेर
सोचिरहेछु
मसँग किन छैन
स्वतन्त्रताको एकमुठी सास ?
किन बेचिन्छु पुस्तौँपुस्ता ?

अब जान्छु
मेरा पूर्वजहरुको चिहान खोज्न
मृत्युपर्यन्त पनि साङ्लामै बाँधिएका
करोडौँ कङ्कालहरु जम्मा गरेर सोध्छु-
आखिर कसले बनाएको हो यो संसार ?

आल्पस पहाडमा रोमसँग लड्दालड्दै
हारेर पनि संसार जितेका
स्पार्टाकसका अदम्य छातीका टुक्राहरु
जम्मा गरेर सोध्छु-
कसले जितेको हो दुनियाँ
दास मालिकले कि तिमीले ?

इजिप्टको पिरामिड बनाउन
नाइल नदीबाट ढुङ्गा बोक्दाबोक्दै
रगत सकिएपछि फालिएका
लाखौँ इजिप्टसियनका हाडहरु
उत्खनन् गरेर सोध्छु-
कसले बनाएको पिरामिड ?
बादशाहले कि तिमीले ?

ताजमहलमा
सिङगमर्मरको समाधिस्थल बनाउँदाबनाउँदै
पाउजुको पासोमा जीवन सुम्पेका
हजारौँ निर्दोष कालीगढका हाडहरु
जम्मा गरेर सोध्छु-
कसले बनाएको यो महल
मुगल सम्राटले कि तिमीले ?

ग्रेटवालको पर्खाल बनाउन
पर्वत फोडेर ढुङ्गा निकाल्दानिकाल्दै
प्रत्येक सिँडीमा आफै ढुङ्गा बनेका
लाखौँ दासहरुको अस्थिपञ्जर बटुलेर सोध्छु-
कसले बनाएको यो ग्रेटवाल
महाराजले कि तिमीले ?

आफ्नै खप्परको सिरानी हाली
चुपचाप निधाउन विवश
म यस शताब्दीको इमान्दार दास
पुर्खाको कङ्काल साक्षी राखेर
अब अस्वीकार गर्छु दासत्व
चुडाउँछु अदृश्य जङ्जिरहरु
र लेखिदिन्छु आफ्नै रगतको मसीले
यो गोलो पृथ्वीको निधारमा-
‘यो संसार मेरो हो ।’

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सव २०७१ मा तृतीय स्थानमा परस्कृत कविता